Hamro Samaya

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

krishna bhir

Share

काठमाडौँ। रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डको कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।

सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीको प्राविधिक अध्ययनका आधारमा भदौ १९ गतेदेखि सुरु गरिएको यस कार्यमा पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। प्राविधिकहरूको निरन्तरको मेहनतपछि गत भदौ २८ गतेदेखि नै उक्त खण्डमा परीक्षणका रूपमा यातायात सेवा सञ्चालन भइसकेको छ।

 सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो । “विभागले विज्ञहरुबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो, कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ”, इन्जिनियर पौडेलले भने । उनका अनुसार सो कार्यमा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् । 

फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेका छन् । अहिले पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन भइरहेका छन् ।

संयोजक पौडेलका अनुसार हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । “भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ । असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ”, उनले भने ।

नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि तयारी भइसकेको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका उनको भनाइ छ ।

विभागका अनुसार उक्त स्थानमा पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप ग्राभेल सामग्री मौज्दात राखिएको छ । साथै पहाडभित्रबाट पानीको सिपेज सडकमा आउन सक्ने जोखिम कम गर्न ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था पनि भइरहेको छ ।

कृष्णभीर माथिपट्टी पहाडमा केही चिरा पनि देखिएका छन् । ती चिराबाट पानी भित्र पस्न नदिन आवश्यक तयारी पनि भइरहेको छ । चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने उपाय अपनाइनेछ ।

कृष्णभीरको जोखिमलाई मध्यनजर गरी उक्त सडकखण्डको वैकल्पिक मार्गका रुपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढाइएको छ । उक्त सडकमा यात्रुवाहक सवारीसाधन वैकिल्पक रुपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।


हाल सडकमा ग्राभेल गर्ने र नाली निर्माण गर्ने काम भइरहेको र यो ३१ गतेसम्म पूरा हुनेछ। आगामी असोज १ गतेदेखि भने सो सडकखण्डमा दुईतर्फी यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याइनेछ। सम्भावित पहिरोको जोखिमलाई मध्यनजर गर्दै ड्रेनेजको व्यवस्था, पहाडका चिरा सिल गर्ने कार्य तथा तत्काल पहिरो हटाउन आवश्यक उपकरण र सामग्री तयारी अवस्थामा राखिएको छ।

Nepal Telecome

ताजा अपडेट

सम्बन्धित खबर