राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ गठन गर्न प्रस्ताव गर्दै शीर्ष नेताहरूको सर्वदलीय बैठक बोलाएका छन्।
बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ। मुलुकका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला विपद् व्यवस्थापनमा राजनीतिक दलहरूबीच प्रभावकारी समन्वय र साझा रणनीति बनाउन लामिछानेले शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन्।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विपद् प्रतिकार्य, उद्धार तथा राहतलाई प्रभावकारी बनाउने र पुनर्निर्माणको कामलाई गति दिने विषयमा छलफल हुनेछ। साथै, यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ।