Hamro Samaya

पर्यटनमा बढ्दो आत्मविश्वास, उज्यालो भविष्यको आशा

reconstruction hamrosamaya

Share

भाद्र ३०, २०८३ । दीपकराज जोशी
भोटेकोशी बाढीमा क्षति व्यहोर्ने र आफन्त गुमाउनेहरूका आँखा अझै रसाइरहेका छन् । बाढीले बगाएका घर, होटल, सडक र पुलका दृश्य अझै आँखाबाट हटेका छैनन् । विश्‍वका विभिन्‍न भूगोलबाट नेपाल हेर्न आएका र त्यस क्षेत्रमा हराइरहेका ६०० पर्यटक अझै सम्पर्कविहीन छन् । यस ‘हिम सुनामी’ ले मानवीय र भौतिक क्षति त गर्‍यो नै, पर्यटन क्षेत्रको मथिंगल हल्लाइदिएको छ । त्यसैकारण नेपालको पर्यटन पुनरुत्थानका सन्दर्भमा बहस र छलफल भइरहेका छन् ।

हामीले नेपाल फरक पारिस्थितिक प्रणाली, जैविक विविधता, विविधतापूर्ण भाषा, भेषभूषा, संस्कार–संस्कृति र फरक अनुभव दिन सक्‍ने पर्यटकीय गन्तव्यहरूको ‘कम्बो प्याकेज’ हो भन्‍ने विषय बुझाउन आवश्यक छ । भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ वटा स्थानीय तहलाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । यहाँ खोज तथा उद्धार, राहत र पुनर्निर्माण र पुनःस्थापनाको काम जारी छ । बाँकी ७२ जिल्लाका ७ सय ३८ पालिकामा रहेका गन्तव्यहरू पर्यटकको स्वागतका लागि खुला छन् ।

यस विषम परिस्थितिमा आर्थिक वृद्धिको मुख्य आधार नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नुपर्छ भन्नेमा शंका छैन । सबैको आशय नेपालमा धेरै पर्यटक आऊन्, नेपाल आउन खोजिरहेका पर्यटकले आफ्नो भ्रमण तालिका रद्द नगरुन् भन्ने नै हो ।के याद गरिनुपर्छ भने, यस्ता कैयौं बाढीहरू, भूकम्प, कोरोना महामारी, पटक–पटकका राजनीतिक अस्थिरता र आन्दोलनहरूको सामना गरेर धूलो टकटकाउँदै हामी उठेका पनि छौं । हामी पर्यटकलाई स्वागत गर्न अहिले पनि तयार छौं ।

ads/1440x233px-ekantipur-27820260835-0692026083347.jpg

त्यसो त यतिबेला पर्यटन क्षेत्रका सरकारी निकाय, अनुभवी, व्यवसायी, पर्यटन सम्बद्ध सरोकारवालहरूले पर्यटन पुनरुत्थानका लागि तर्क र सुझावहरू पेस गरिरहेका छन् । केहीले विभिन्‍न मुलुकका इन्फ्लुयन्सरबाट नेपाल भ्रमणका लागि सहानुभूति राखी भ्रमण अनुरोधसहितका याचना गरिरहेको देखिएको छ । सामाजिक सञ्‍जालमा नेपालप्रति माया र सद्भाव व्यक्त गर्दै अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपाल भ्रमणका लागि आह्वान गर्ने अभियान पनि सञ्‍चालन भइरहेका देखिन्छन् । ‘नेपाल आउनुस्, हामीलाई सहयोग गर्नुस्’, ‘तपाईंको भ्रमणले नेपाल उठ्नेछ’, ‘नेपालमा आयआर्जन र रोजगार गुम्यो, तपाईंको भ्रमणले हामीलाई सहयोग पुग्छ’ जस्ता सन्देशहरू केही मानेमा सद्भावपूर्ण नै देखिन्छन् । भाषा र वाक्य जे भए पनि सबैको आशय हो– यस विषम परिस्थितिमा आर्थिक वृद्धिको मुख्य आधार नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नुपर्छ भन्नेमा शंका छैन । सबैको आशय नेपालमा धेरै पर्यटक आऊन्, नेपाल आउन खोजिरहेका पर्यटकले आफ्नो भ्रमण तालिका रद्द नगरुन् भन्ने नै हो । यी प्रयास सकारात्मक नै छन् ।

तर, हामीले तत्काल गर्नैपर्ने केही काम छन् । रसुवा बाढीमा बेपत्ता भएका प्रियजनको सोधीखोजी गर्न विश्‍वका विभिन्‍न मुलुकबाट आएका आफन्‍तहरूलाई महसुस हुने गरी घाउमा मलम लगाउने कार्य गरौं । त्यसका लागि उनीहरूको आँसु पुछ्‍न एक भएर हात बढाऔं । उनीहरूको भिसा प्रक्रिया, बसाइ सुविधा, सूचना आदानप्रदान, स्वास्थ्य उपचारमा छुटजस्ता काम गरेपछि मात्र हाम्रो ‘अतिथिदेवः भवः’ को अर्थ जीवन्त बन्छ । उनीहरूलाई सुरक्षित महसुस गराउने कामलाई प्राथमिकतामा राखिनुपर्छ ।

ads/3-ekantipurmultiframe6800-x-11-2082026063547.png

हामीले प्रभावित क्षेत्रबारे स्पष्ट सूचना दिने, सुरक्षित गन्तव्यबारे आश्वस्त पार्ने, पूर्वाधार पुनर्निर्माण गर्ने, पर्यटन व्यवसायलाई दिगो र सुरक्षित बनाउने र विश्व बजारमा नेपालको कथा सुनाउने काम गर्नुपर्छ । हामीले सहानुभूतिको याचनाभन्दा आत्मविश्वास प्रदर्शन र प्रचार गर्नुपर्छ । एक पटक सोचौं– के हामीले अन्तर्राष्ट्रिय पर्यटन बजारमा पीडा बेचेर पर्यटन माथि उठ्न सक्छ ? यदि उठेछ भने पनि दिगो बन्‍न सक्दैन ।

पर्यटन कुनै ‘च्यारिटी’ होइन, यो ‘एक्सपेरिन्सियल इकोनमी’ हो । पर्यटन आँसु देखाएर चल्ने उद्योग होइन, विविधतापूर्ण अनुभूति दिएर चल्ने अर्थतन्त्र हो ।पर्यटन व्यवसाय हो । नेपालको अर्थतन्त्रमा यसको ठूलै योगदान छ । रोजगारी सिर्जना गर्ने बलियो आधार हो । भुइँ तहदेखि सत्ता र सरकारसम्मलाई जोड्‍न सक्ने माध्यम पनि हो । यो बृहत् क्षेत्रलाई हामीले सहानुभूतिको लेपन लगाउँदा पर्यटन दिगो हुन सक्दैन । घुम्‍ने भनेको खुसीका लागि हो । हामीले पर्यटकलाई नेपालीको दुःख हेर्न नबोलाऊँ । उनीहरू हिमाल हेर्न आउँछन्, विविधता अनुभव गर्न आउँछन्, संस्कृति र सम्पदासँग जोडिन आउँछन्, आध्यात्मिक शान्ति खोज्न आउँछन्, नेपालको मौलिक आतिथ्य शैलीमा रमाउन आउँछन् । पर्यटकहरू पीडाभन्दा सुन्दर, सुरक्षित, जीवित र आत्मविश्वासी नेपाल घुम्न चाहन्छन् । पर्यटकलाई दयाको बोझ र दबाब नदिऊँ । ‘तपाईं नेपाल आउनु भएन भने, नेपालीहरू समस्यामा पर्छन्’ भन्ने जस्ता सन्देशले पर्यटकलाई भावनात्मक दबाब दिन सक्छ । तर ‘नेपाल आउनुस्, यहाँ अझै पनि जीवन, प्रकृति, संस्कृति, र साहसिक अनुभवहरू तपाईंलाई पर्खिरहेका छन्’ भन्ने सन्देशले आकर्षण पैदा गर्छ र प्रेरित गर्छ ।

पर्यटन कुनै ‘च्यारिटी’ होइन, यो ‘एक्सपेरिन्सियल इकोनमी’ हो । पर्यटन आँसु देखाएर चल्ने उद्योग होइन, विविधतापूर्ण अनुभूति दिएर चल्ने अर्थतन्त्र हो । पर्यटकले आफ्नो पैसा खर्च गरेर एउटा विशिष्ट र आफूलाई मन पर्ने अनुभव सँगाल्न चाहन्छन् । त्यसैले हामीले उनीहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति, साहस, विविधता, आतिथ्य र जीवन्तताको अनुभव बेचौं, हाम्रो पीडा होइन ।

विपद् र संकटपछि गन्तव्यहरू कमजोर वा दयाका रूपमा होइन, बरु सुरक्षित, आत्मविश्‍वास र तयारीका साथ बजारमा फर्किन्छन् । यहाँ आत्मविश्वासको अर्थ वास्तविकता लुकाउनु पनि होइन । जहाँ क्षति भएको छ, त्यहाँ क्षति भएको विषय स्पष्ट रूपमा भन्नुपर्छ । कुन गन्तव्य, कुन सडक, कुन विमानस्थल खुला र सञ्‍चालनमा छन्, कहाँ जोखिम छ जस्ता आधारभूत सूचनाहरू दिनुपर्छ । जसले सुरक्षित र गन्तव्यप्रतिको विश्‍वसनीयता बढाउँछ ।

हामीसँग संसारलाई भन्ने थुप्रै कथा छन् । पर्यटकलाई प्रेरित गर्ने थुप्रै तथ्यांक छन् । उदाहरणका लागि केही दिनयताको तथ्यांक हेर्ने हो भने औसतमा प्रत्येक दिन अहिले पनि करिब २४०० अन्तर्राष्ट्रिय यात्रु आइरहेकै छन् । मनास्लुमा आरोहणका लागि ४०० जनाभन्दा बढी आरोही तथा पदयात्री आएका छन् । जुन गत वर्षकै हाराहारीको संख्या हो । अन्नपूर्ण तथा सगरमाथा क्षेत्रको पदयात्रामा आउने संख्या पनि खासै घटेको छैन । त्यसैगरी काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रमा आउने पर्यटक पनि आइरहेकै छन् । नेपालमा पदयात्रा तथा पर्वतारोहण र अन्य साहसिक पर्यटनका लागि आउने पर्यटकले प्रायः केही समय अतिरिक्त राखेर आइरहेका हुन्छन् । उनीहरूलाई हामीले सही सूचना समयमा नै उपलब्ध गराउने जिम्मेवारीमा इमान्दार बन्‍नुपर्छ ।

ads/1440-x-2333in1-scent-1-2782026051413.jpg

हाम्रा चाडपर्वहरू आँगनको डिलमा आइसकेका छन् । काठमाडौं उपत्यका र देशभरका विभिन्‍न ठाउँमा हुने जात्रा र पर्वहरू सुरु भइसकेका छन् । अवश्य पनि यतिबेला प्रभावित क्षेत्रका नागरिकको घाउमा मलम लगाउन कुनै कसर बाँकी राखिनु हुँदैन । यसका लागि सिंगो देश एक ठाउँमा उभिएको छ । सरकारसँग काँधमा काँध मिलाइरहेको छ । तर, अन्य भूगोलमा पूर्ण रूपमा हामी खुला छौं भन्‍ने सन्देशसहित अन्तर्राष्ट्रिय ठूला मञ्‍चहरूमा पर्यटकीय उपज र गन्तव्यबारे तथ्य, तथ्यांकसहित सुरक्षित रहेको कुरा आत्मविश्‍वासका साथ भन्‍नै पर्नेछ ।

हामी पर्यटन क्षेत्रका मानिसहरूले प्रयोग गर्ने भाष्य ‘हाम्रो पर्यटन व्यवसाय डुब्‍न लाग्यो, कृपया बुकिङ रद्द नगरिदिनुस्’ भन्‍ने शैलीको हुनु हुँदैन । अब ‘नेपाल गरिब तर सुन्दर देश’ भन्ने भाष्यलाई छाडेर ‘नेपाल उत्थानशील, सुन्दर, प्रगतिउन्मुख एक अद्वितीय अनुभव सँगाल्‍ने गन्तव्य हो’ भन्‍ने आत्मबलका साथ अघि बढ्नुपर्छ ।

त्यसैले विपद्पछिको पुनरुत्थानका लागि हामीले भन्नुपर्छ– नेपाललाई दया होइन, विश्वास चाहिएको छ । नेपालप्रति सहानुभूति होइन, सहकार्यका लागि साझेदार चाहिएको छ । नेपाललाई राहत मात्रै होइन, अवसर चाहिएको छ । नेपाललाई विपद्बाट परिभाषित देश होइन, विपद्पछिको पुनःस्थापना, पुनर्निर्माण र पुनरुत्थानको उदाहरण बोकेको देशका रूपमा परिचित गराऔं । विश्वभरका सञ्‍चारमाध्यममा फैलिएका विपद्का तस्बिरहरू सँगसँगै नेपाल उठेको तस्बिर छाप्‍न सक्ने गरी हामीले काम अघि बढाऔं । त्यसैले विविधता, सुन्दरता, सुरक्षा र सहजतासहितको आत्मविश्वास बोकेको गन्तव्यका रूपमा नेपाललाई चिनाऔं ।

Nepal Telecome

ताजा अपडेट

सम्बन्धित खबर