भोटेकोशी र त्रिशूलीको बाढीमा परेर मृत्यु भएकाहरुको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ।
शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक संजालमार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ। पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम ‘एयरटाइट ब्याग’मा राखेर गाड्न थालिएको प्रहरीले जनाएको छ।
लामो समयसम्म शव बाह्य वातावरणमा रहँदा सड्ने प्रकृयामा तिब्रता आई पानीका स्रोतलगायत विभिन्न माध्यमबाट महामारीको जोखिमसमेत बढ्न सक्ने उल्लेख गर्दै प्रहरीले भनेको छ, ‘यो प्रकृयालाई शवलाई दाहसंस्कार गर्न लागिएको रुपमा बुझ्नु गलत हो। यसलाई भविष्यमा सनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्नुपर्छ।’
निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको कोड नम्बर जमिनमुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको स्थानको जिपिएस लोकेसन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ ।