काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.०४ अंकले घटेर २ हजार ५५७.३१ विन्दुमा कायम भएको छ । बिहीबारको सेयर बजारमा १४६ कम्पनीको मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने १५ कम्पनीको स्थिर रह्यो ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ । बुधबार ४ अर्ब ७७ करोडको कारोबार भएकोमा बिहीबार ३ अर्ब ७८ करोडको सेयर किनबेच भयो । बाढीका कारण बिहीबार निर्जीवन बीमा समूहका अलवा जलविद्युत् समूह पनि ०.५५ प्रतिशत घट्यो । बिहीबार धेरै कारोबार भएका कम्पनीमा शिवम् सिमेन्ट, एसबीआई बैंक, चिलिमे हाइड्रोपावर, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहेका छन् ।
बुधबार तिब्बतबाट आएको बाढीका कारण एक दर्जन बढी जलविद्युत् आयोजना, सयौं सवारीसाधन, सयौं भवनमा क्षति पुगेपछि त्यसको क्षतिपूर्तिको भार निर्जीवन बीमा कम्पनीमा पर्ने भएकाले सेयर बजारमा यस समूहले सबैभन्दा नकारात्मक प्रतिक्रिया जनाएको छ ।
त्यस्तै जीवन बीमा ०.२४ र अन्य १.०७ प्रतिशत घटे । त्यस्तै अपरहेवाखेला जलविद्युत् कम्पनीको ९.४५, त्रिशूली जलविद्युत् कम्पनीको ०.२३, इमर्जिङ नेपालको ८.३८, रसुवागढी हाइड्रोपावरको ८.३८ तथा माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य ८.०० प्रतिशत घट्यो ।
बैंकिङ ०.१४, विकास बैंक ०.४४, फाइनान्स ०.६६, होटल तथा पर्यटन ०.४१, लगानी ०.१५, उत्पादन तथा प्रशोधन १.७५, माइक्रोफाइनान्स ०.१२ प्रतिशत बढेका छन् । सर्वोत्तम पेन्ट्सको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै घोराही सिमेन्टको ८.१९, सोनापुर सिमेन्टको ५.०५, भगवती हाइड्रोपावरको ४.७२, पाल्पा सिमेन्टको ४.५३, शिवम् सिमेन्टको ४.१७ प्रतिशत मूल्य बढ्यो ।